Sunday, August 4, 2013

बहराइन चौतारी

घटना तथा पात्रहरु कपोकल्पित हुन् । 

हिन्दीमा विमान उडानको उद्घोसण  हुन्छ । एअर इंडियाको फ्लाइट तिरुवन्तनपुरम जानको लागि तयार छ भनेर। फ्र्यांकफर्टबाट आएको गल्फ एअरको विमानबाट म केहीबेर अघि बहराइनको अन्तराष्ट्रिय विमानस्थलमा ओर्लेको थिएँ । ४ घण्टाको ट्रान्जिट भएकोले म निस्फिक्री वरिपरिको रमिता हेर्छु। सेतो लिवाजमा सजेका अरबीहरु कालो बुर्खाले पुरै शरीर ढाकिएका आफ्ना श्रीमती र बच्चाहरुसँग ओहोरदोहोर गर्दैछन। हरेक  फ्लाइटको काउन्टरमा थरि थरिका मान्छेहरु छन् । नेपाली, भारती, बंगलादेशी, मुलत: दक्षिण एशियालीहरु आ-आफ्नै हुल बाँधेर बसेका छन् । म्यानपावरको नाम लेखेको क्याप र टीसर्ट लाएका अन्दाजी २० देखि ३५ वर्षे जमातले कुनै मेलाजस्तो रौनक थपिदिएको छ त्यहाँको माहौलमा । भौतिक सुबिधा र आकारको आधारमा युरोप र अमेरिकाको कुनै विमानस्थलसँग तुलना गर्न सकिने यो विमानस्थलको चहलपहल भने नितान्त बेग्लै थियो। मध्य पूर्व र दक्षिण एशियाको खिचडीमय संगमजस्तो । 

मलाई शौचालय जाने र एक कप तातो कफी पिउने व्यग्रताले एकैपल्ट गाँज्छ। अमेरिकाभित्र एउटा फ्लाइट, त्यसपछि फ्र्यांकफर्टसम्मको लामो फ्लाइट, फ्र्यांकफर्टमा पट्यारलाग्दो ट्रान्जिट, अनि त्यहाँबाट बहराइनसम्मको फ्लाइटले म पुरै गलिसकेको छु। कफी पसल र शौचालयको खोजीमा म आफ्नो हाते झोला गुडाउँदै एउटा दिशामा अघि बढ्छु । वरिपरिका मान्छेहरुको रमिता हेर्दै आखाँ सेक्छु, अनि हरेक चेहराको रंग, वतन, हुलिया मनमनै गुन्छु । 

हिंड्दै गर्दा बायाँपट्टी एउटा कफी पसल र करिब ४०-५० फिटजति अगाडी शौचालयको चिन्ह एकैपटक देख्छु। एकैछिनको दोधारपश्चात शुरुमा कफी खाने निर्णय गर्छु। पसलेसँग अंग्रेजीमा कफी मांग्छु । 

"दाइ  नेपाली हो? " पसले सवाल तेर्स्याउँछ। 

"हो। भाइ पनि?" म प्रतिप्रश्न गर्छु। 

"हो दाइ। अनि दाइ घर फर्कदै? कताबाट नि?" ऊ जिज्ञाशु हुन्छ। 

"म अमेरिका बस्छु। यसो एक महिनाको छुट्टी निकालेर नेपाल जान लागेको।"

कफी तयार हुन्छ। म एक हातले कप समाउँदै अर्को हातले पाँच अमेरिकी डलरको नोट पसले भाइलाई थमाउँछु। मलाई फिर्ता दिन ऊ  केहि बहराइनी सिक्काहरु केलाउँछ। म "भयो पर्दैन भाइ" भन्छु र पसलको ठीक अघि रहेको बेन्चका लहरहरुतर्फ लम्कन्छु। सँगैको बेन्चको एउटा मान्छे मतिर हेर्दै मुसुक्क हाँस्छ। म मुस्कान फर्काउँछु र बेन्चमा बसेर कफी पिउन थाल्छु। 

"अनि सर अमेरिकामा के गर्नुहुन्छ नि?" ऊ  हल्का तवरले प्रश्न गर्छ। मलाई भने त्यो प्रश्नले सानोतिनो सनक चद्छ। "कति चासो होला यो मान्छेलाई? अघि त्यो पसलेसँगको मेरो कुरा सुनेर बसेको रैछ।" मनमनै सोच्छु। फेरी मलाई उसले सर भनेर सम्बोधन गरेको नि खासै मनपर्दैन। तर अर्को मनले फेरी "यो मान्छेले त केहि नलुकाई खुलै रुपमा भन्यो, आफुले सुनेको कुरा। केहि नबोली चुपचाप पनि त बस्न सक्थ्यो। इमान्दार होला जस्तो छ।" भनी  तर्क गर्छ। मैले शायद २ सेकेन्ड लाएँ होला यी सबै कुरा सोची भ्याउन। कति छिटो चल्ने हगि मान्छेको दिमाग? 

"म कम्प्युटरसम्बन्धी  काम गर्छु।" आइ टी  कन्सलट्यान्सीको आफ्नो जागिरलाई उल्था गर्दै भन्छु। 

"अनि सर एक्लै? जहान बच्चा?"

"मेरो बिहे भएको छैन। पढ्दा पढ्दै उमेर गएको पत्तै भएन।" म खिस्स हाँस्छु। "अनि मलाई यो सर सर नभन्नुस है। मेरो नाम रोशन।" म परिचय दिंदै ऊतर्फ हात बढाउँछु।"

"ल हेर! तपाईको र मेरो त नाम पनि एउटै रैछ। मेरो नाम रोशन ढुंगेल।"

"म चाहिं रोशन कार्की।"  
  
"उसोभए तपाईलाई कार्कीजी भनेर बोलाउनु पर्यो। म काम गर्ने ठाउँ, उता कुवेतमा पनि एकजना कार्कीजी हुनुहुन्छ। तपाई हामीभन्दा अलिक पाको, तर मान्छे बडा मिजसिला।" ऊ  निकै उत्साहित हुँदै सुनाउँछ। 

नेपालीको जात न पर्यो, मेरो कफी सकुन्जेलसम्म हामीलाई एक-अर्काको तीनपुस्ते नालीबेली थाह हुन्छ। उसको घर भक्तपुरको कटुन्जेमा रैछ। घरमा आमा, बा, श्रीमती, छ वर्षे छोरा, अनि बाइस वर्षे  भाइ -एउटी दिदी बिहे भएर गइसकेकी। ढुंगेलजी चाहिं कुवेतको एउटा मलमा सेक्युरिटी गार्डको काम गर्दा रैछन। ६-७ वर्ष भैसकेको रहेछ नेपाल छाडेको। एकपटक छोरो जन्मदाँ नेपाल गएका रैछन, अहिले भने सधैँका लागि फर्कन लागेका रे। ढुंगेलजीसँग  मेरो नाम मात्र हैन उमेर पनि मिल्दो रैछ -दुवैजना तीस वर्ष, उनी बैशाखका, म मङ्सिरको। 

म पनि आफ्नो बेलीविस्तार लाउँछु। उन्नाइस वर्षको हुदाँ पढ्न अमेरिका छिरेको, अन्डर ग्रयाजुएटदेखि मास्टर्ससम्मको पढाई, त्यसपछिको कन्सलट्यान्सीको कहीं नपुगिने तात्तो न छारो जागिर, सबै कुरा भन्छु। चाबेलको रैथाने म, घरको एक्लो छोरो, एउटी दिदी बिहे भैसकेकी -यहि नै भयो मेरो परिचय उनका अगाडि। ढुंगेलजी र म मिलेर कुवेतका उनका कार्की मित्र र मबीच हुनसक्ने नातागोता पत्ता लाउने भरमजदुर प्रयास गर्छौं तर सक्दैनौं। 

"एकैछिन मेरो सामान हेरिदिनुस्  है। म ट्वाइलेट गएर आउँछु।" उनले भनेपछि पो झल्याँस्स भयो, आफुलाई नि त्यतै धाउनुछ भनेर। 

"हस्! बरु तपाई फर्किनुभएपछि मलाई पनि जानुछ एक पटक।"

घुम्दावर्दा कति मान्छेहरुसँग भेट हुन्छ, कुराकानी हुन्छ, तर नेपालीहरुसँग चाँही अचम्मैसँग  छिटो 'कनेक्ट' भइने। भरिएको पिसाबथैलीबाट मन डुलाउन रित्तिएको कफी कप हेर्छु। साँच्चै कति गार्हो हुने हगि यो प्रतिक्षा भन्ने कुरो? हाइ स्कुल सकिनासाथ अमेरिका जाने साइत कहिले जुर्ने हो भनेर कुरियो, अमेरिका छिरेपछि अहोरात्र कलेजको ग्र्याजुएसन डे कुरियो, त्यसपछि ग्रयाड स्कुल कहिले सकेला भन्यो, अनि जागिर , ग्रीन कार्ड............. उफ! कुर्दा कुर्दै बित्छ कि क्या हो यो जिन्दगी? ढुंगेलजी आइपुग्छन्, त्यो पलको  मेरो कुराइ टुंगिन्छ। फटाफट पाइला चाल्दै शौचालय जान्छु अनि शायद आधा जिन्दगी लगाएर आफुलाई हल्का पार्छु। सोच्छु पानी र नुनका ती कणहरु, कति अमेरिकामा बने होलान्, कति फ्र्यांकफर्टमा पिइएका होलन्, कति मजाले अब मिसिनेछन् मध्यपुर्वको त्यो विमानस्थलको ढल हुँदै खाडीको सागरमा। मेरो मुत्रदर्शन मुत्रको प्रवाहसँगै रोकिन्छ र म फर्किन्छु ढुंगेलजीसँग  भलाकुसारी गर्न।   

"यसो यताउति डुलौं न है। कति यैं बसिरनु?" ढुंगेलजी प्रस्ताव गर्छन्। 

म हुन्छ भन्दै मुन्टो हल्लाउँदै सहमति दिन्छु। बाटोमा भेटिएको एउटा खाली ट्रलीमा दुवैको झोला राखेर हामी विमानस्थलका पसलहरु चहार्छौँ। एउटा पसलमा राखेको रेड लेबल व्हिस्कीमा ढुंगेलजीको आखाँ जान्छ। 

"ओहो! यो एउटा चाहिं हाम्रा ससुरा बालाई  लग्दिन पर्यो। खुब रहर गर्छन् बुढा! हा हा…!" ढुंगेलजी एउटा बोतल ट्रलीमा हाल्छन्।

"बाइ वान गेट हाल्फ़ अफ अदर रैछ नि त। डेढीको मोलमा दुइटा!" म सेल्फमा लेखेर राखिएको अफर देखाउँदै उनलाई सजग गराउँछु। 

"के गर्नु कार्कीजी, उता नेपालको भन्साराँ किचकिच गर्छन् क्यारे एउटा भन्दा बढी लग्यो भने।"

"एउटा म लिईदिउँला नि त।"

"त्यसो भए त काइदा भैहाल्यो नि। एउटा ससुराबालाई दियो, अर्को बोतल साथीभाइलाई बोलाएर आफुले फोड्यो। हा हा हा…।" मीठो हाँसो छोड्दै ढुंगेलजी एउटा अर्को बोतल ट्रलीमा राख्छन्। 

रक्सी किनिवरी हामी फेरी विमानस्थलको  सेरोफेरोमा बरालिन्छौँ । मलाई अब वरिपरिको तामझामभन्दा ढुंगेलजीकै फरासिलो स्वभाव, उनको चटपटे कुरा, अनि उनको दिल खोलेर निस्कने हाँसो नै रमाइलो लाग्छ। जे भने जसो गरे पनि मान्छेलाई आखिर तृप्ति मिल्ने मान्छेबाटै ! नचिनेको मान्छेलाई नियालेर मजा लियो, चिनेकोसँग बातचितको आनन्द उठायो, कुराकानीसँगै  नजिकियो -एक्लो मनलाई सँधै साथ चाहिने अर्को मनको। यो पलका लागि मेरो सबैभन्दा नजिकका साथी भए ढुंगेलजी। 

"टाइम पनि हुन लाग्यो। अब गेटतिरै लाग्ने हो कि?" मैले आफ्नो आइफोनको स्क्रीन हेर्दै भने। यात्रा शुरु हुँदै बाटोमा पर्ने सबै ठाउँको टाइम सेट गरेर राखेको थिएँ मैले । 

"हो हो। हाम्रो फ्लाइट उही त होला नि। हेर्नुस त" भन्दै उनी आफ्नो बोर्डिंग पास मतिर तेर्स्याउँछन् । 

"हो एउटै हो।" म उनको बोर्डिंग पास हेर्दै भन्छु। फ्लाइट उही हुनेमा त मलाई शंका थिएन। म उनको बोर्डिंग पासमा अर्कै कुरो हेर्दै थिएँ -उनको सीट नम्बर। यसो साइत जुरेर सँगै  सँगै  पर्दिए हुन्थ्यो भनी चिताउँछु। तर सीट चाहिं मेरो प्लेनको टाउकोतिर, उनको चाहिं पुच्छरतिर भनेजस्तो रहेछ। लौ अब यति नै रैछ ढुंगेलजीसँगको साथ भन्ने सोच्छु। 
    
 दुवैजना फ्लाइट छुट्ने गेटतिर पुग्छौं। प्लेन उड्न एक घण्टा पनि बाँकी थिएन। वर्षौपछि परिवारसँग  हुन गैरहेको भेटघाट सम्झेर रोमान्चित त हुन्छु, तर ढुंगेलजीको गफ अब कहिल्यै सुन्न पाइने छैन भनेर कता कता मन अलिकति खिस्रिक्क पनि हुन्छ। उनी  बोल्दैछन्, हाँस्दैछन् । बेला बेलामा तिघ्रा पिट्दै दङ्ग पर्छन्। मलाई भने अचम्मको भावनाले गाँज्छ। म उनीसँग बोल्न डराउँछु, उनीसँगको सामीप्यतादेखि तर्सन्छु किनकि यो साथ, यो सामीप्यताको आयु अब फगत केहि मिनेट मात्र बाकीं छ। 

"म कफी लिएर आउँछु।" उनको जवाफ आउनु अघि नै म नजिकको कफी पसलतर्फ लम्कन्छु। पसलमा एउटा अरबी केटो थियो। कफी माग्नु बाहेक अरु कुरो हुन्न त्योसँग। म दुई कप कफी बोकेर ढुंगेलजीतिर लम्कन्छु। 

"अब त लाइन बस्न थाले। जाऔं लाइन बस्न।" म उनलाई एउटा कफीको कप थमाउँछु। दुवैजना  कफीको चुस्की लिदैं लाइन बस्छौं। 

प्लेन चढ्नुअघि हामी आ-आफ्नो झोला र एक-एकोटा  रेड लेबलको बोतल लिन्छौं। 

"अनि तपाईको फोन नम्बर?" उनले सोधेपछि पो मलाई हेक्का हुन्छ कि यत्रो बेर बात मारे पनि जाबो फोन नम्बरसमेत साटिएको रहेनछ। 

"४४८९७५६" म कुनै रोबोटले झैं फटाफट घरको नम्बर भन्छु उनलाई। 

"ला! फेरी कागज कलम केही रहेनछ मसँग। तपाईसँग  छ कि?"

"मसँग पनि छैन। तपाईको भन्नुस्  न, म आइफ़ोनमा सेभ गर्छु।"

"६६१५८३४, यो मेरो घरको।"

उनको नम्बर सेभ गरुन्जेल हामी प्लेनको ढोकामा पुग्छौं। विमान परिचारिकाले बोर्डिंग पास हेर्दै सीट  देखाइदिन्छे, एउटा नक्कली मुस्कानका साथ, ढुंगेलजीको सरल हाँसोको ठ्याक्कै उल्टो। 

"ल त कार्कीजी अब काठमाडौँको एअरपोर्टमा भेटौंला।" ढुंगेलजी मलाई मेरो सीटमा छोडेर पछाडी जान्छन्। 

काठमाडौँ आइपुग्न एक घण्टा बाँकी रहँदा म शौचालय जान उठ्छु। ढुंगेलजी मस्त निदाइरहेका हुन्छन्। उठाउन मन लाग्दैन। 

काठमाडौँमा ओर्लेपछि अध्यागमनको लाइन बस्दा ढुंगेलजीलाई देख्दिन। आउँदै होलान भन्ठान्छु। पासपोर्टमा छाप लाएपछि भुइँतलामा रहेको कन्भेयर बेल्टबाट आफ्नो सामान लिइवऱी उनलाई कुर्छु। आधा घण्टा जति कुर्दा पनि उनी  नआएपछि म एअरपोर्ट बाहिर निस्कनछु। तल रिङ्गरोडको कोलाहल चिल्लो सडकको उकालो उक्लदैं एअरपोर्ट गेटसम्मै आएको भान  हुन्छ। ट्याक्सीवालाहरु आगन्तुकहरुलाई अपहरण नै गर्छौं भने जसरी झम्टिन आउँछन्। दिदी भिनाजुलाई देखेपछि बल्ल राहतको शास आउँछ।  

भिनाजुको कारमा सामान राखिवरी घरतिर लाग्छौं। सात वर्षपछि काठमाडौँलाई कारको शीसाबाट नियाल्छु। बिहानी दश बजेको भीडले काठमाडौँलाई ढपक्कै ढाकेको थियो। दिदी भिनाजुसँग कुराकानी गर्दा पनि मेरा आखाँहरु भने एकतमाशसँग बाहिरको सडक, दुई छेउका घरहरु, टहराहरु, मान्छेहरु, हिलो, धुलो, मन्दिर, फोनका टावरहरुलाई नियाल्छन्। 

त्यो दिन घरपरिवारसँग  रुमल्लिदैं बित्छ।  भोलिपल्ट एकाबिहानै ढुंगेलजीको नम्बर डायल गर्छु। 

"हेलो!" उताबाट एउटा बच्चाको आवाज आउँछ। 

"हेलो! रोशन ढुंगेलजीलाई पाउँ न।"

"हेलो!" फुच्चे फेरी रट लाउँछ। ढुंगेलजीको छोरा होला भनेर सोच्छु। 

"हेलो! बाबु बुवालाई फोन देउ त!"

"हेलो......"

मलाई हल्का झोक चल्छ। तर के गर्नु? अर्को साइडमा बच्चाले फोन उठायो भने यस्तै हुन्छ। 

"खोई खोई दे त! हेलो! को बोल्नुभा होला?" ढुंगेलजीको आवाज सुनेपछि बल्ल मलाई सन्चो हुन्छ। 

"हेलो म रोशन कार्की बोलेको। राम्ररी आइपुग्नुभो ढुंगेलजी?"

"राम्ररी नै भन्नुपर्यो। इमिग्रेसनमा अलि झमेला गर्दै थिए। यो पेपर छैन, त्यो छैन भन्दै थे, पछि बल्ल बल्ल छाडे।"

"त्यही त तपाइलाई कुरें कुरें, पछि मलाई पनि अबेर भो अनि हिडें। बरु तपाइको रेड लेबल दिनुपर्यो भनेर फोन गरेको।"

"ए! किन आत्तिनुपर्यो त? म लिन आइहाल्छु नि!"

"हैन, त्यो भक्तपुर जाने बाटो बढाकाछन् रे। आफुलाई नि यसो हेर्न मन लागेर। बरु कटुन्जे कसरी आइपुग्ने हो तपाईकाँ ?"

"लौ अब दु:ख नगर्नु भनेको! तपाइलाई सल्लाघारी जाने बाटो कटेपछि  कटुन्जे जाने उकालो थाह छ दाइनेतिर?"

"था छ।"

"हो मेनरोडबाट त्यही उकालोनेर आइपुगेर मलाई कल गर्नुहोला। म भाइलाई लिन पठाउँछु।"

"हुन्छ ढुंगेलजी, अब तपाइलाई घरमै भेटौंला।" 

"हस्  कार्कीजी।"

म फोन राख्छु। भक्तपुरको छ लेनको बाटोमा दिदीको पुरानो स्कुटर कुदाउने अनि ढुंगेलजीसँग फेरी भेटघाट हुने कुरो सम्झेर म फुरुङ्ग हुन्छु।

दिदीको थन्किएर बसेको स्कुटर लिएर घरछेउ अस्लमको वर्कसपमा लान्छु। अस्लम मलाई देखेर दङ्ग पर्छ। उसको वर्कसप देख्दा सात वर्षमा राम्रै प्रगति गरेजस्तो लाग्छ। अस्लमले हल्का मर्मत गरिदिन्छ। पैसा लिन भने मान्दैन। स्कुटर लिएर म चाबेल चोक, गौशाला हुदैं तीनकुनेतिर हुँइकिन्छु। तीनकुनेपछिको बाटो मस्तले फराकिलो बनाका  रैछन् । धेरैपछि काठमाडौँको सडकमा गाडी चलाउँदा अलि अलि डर लागेपनि मनमा उर्लिएको मीठो रोमान्चले सबै कुरा बिर्साइदिन्छ। डर र उल्लासबीचको पैठेजोरीमा स्कुटरको हरेक कान निमोठ्याईले उल्लासकै विजय गराँउछ। 

कटुन्जेको उकालोमुनि पुगेर ढुंगेलजीलाई फोन गर्छु। भाग्यबश उनको छोराले उठाउँदैन। केहीबेरमै उनको भाइ रवि, रातो पल्सर बाइक लिएर आइपुग्छ। 

"दाइ नमस्ते!" ऊ बाइक रोकेर शिष्टाचार व्यक्त गर्छ। 

"नमस्ते भाइ! भाइको त गजबको बडेमानको बाइक रैछ। मेरो स्कुटरले पो यो उकालो तान्ला कि नतान्ला!"

"नताने मेरै बाइकमा जाऔंला नि।"

"ल ल भइहाल्छ।"

रविलाई पछ्याउँदै म ढुंगेलजीको घर पुग्छु। चिटिक्क परेको दुईतले घर, घर पछाडि करेसा बारी, छेवैमा गोठ, गोठमा खाइलाग्दो गाई  र बाच्छो, आँगनमा मौसमी फूलहरु, भोगटे, हलुवावेद, नासपाती र आलुबखडाका बोटहरु। लटरम्म फलेका आलुबखडाहरुले एउटा छुट्टै तरङ्ग पैदा गरेको प्रतिभुति हुन्छ त्यो साउने बिहानीमा।

ढुंगेलजीलाई रेड लेबल थमाउँछु। उनी भात खाएर जान कर गर्छन्। म नकार्न सक्दिन। घरैमा बनेको, तीन गाउँ बास्ना चल्ने घिउले झानेर ढुंगेलजीकी श्रीमती खाना पस्किन्छिन्। त्यो खाँटी नेपाली भोजनको स्वादले मेरो मन र मस्तिस्कलाई अलौकिक सन्तुष्टी दिन्छ।

"अब के गर्ने विचार गर्नुभा'छ त ढुंगेलजी?" लोटाको पानीले चुठ्दै म प्रश्न गर्छु। 

"त्यो पछाडिको बारीमा एउटा खोर बनाएर कुखुरापालन गर्छु, बाकीं र'को ठाउँमा मौसमी तरकारी लाउँछु। हेर्दै जाउँ अरु के के गरिन्छ? यतै बस्ने भएपछी यसो २-४ पैसा कमाउने मेसो गर्नुपर्यो नि! विदेशीको नोकरी कति गर्नु? ७ वर्ष भैसक्यो! आफ्नो लगानीको जोहो गरिहालियो। भाइलाई पनि पढाएँ। सबै परिवार यतै छौं। यहीं केहि गर्नुपर्छ।"

ढुंगेलजीले भाइलाई खुबै माया गर्दा रैछन जस्तो लाग्छ। उसको बाइक किन्ने पैसा पनि ढुंगेलजीले नै पठाएका रैछन। रविले मलाई उकालो चढ्दा भन्या थियो। 

नढाँटी भन्नुपर्दा मैले सोचेको भन्दा निकै सम्पन्न पाउँछु म ढुंगेलजीको परिवार। नेपालीहरुले खाडीमा भोगेका कहालीलाग्दा कहानीहरु निकै सुनेको थिएँ। उनको कथा भने पृथक पाएकोमा खुशी लाग्छ। 

"अब जाउँ क्यारे!" आँगनको मुढामा टुक्रुक्क बसेका ढुंगेलजीका बातिर म नमस्कार तेर्स्याउँदै भन्छु। त्यहाँ बात मारेर बसेको पनि २-३ घण्टा भैसकेछ। 

"लौ बाबु, खुशी लाग्यो भेटेर। यसो मिले भने फेरी आउनु नि है।"

"हुन्छ बा! मिले भने आउँला।" म सदाशयता व्यक्त गर्छु। 

म ढुंगेलजी र उनको परिवारसँग विदावारी हुन्छु। बाँसघारीको चिसो ताप्दै म ओरालो लाग्छु, तल मेनरोडतिर। मनमा अनेकन विचारहरु आउँछन्। मेरै उमेर, मेरै ठाउँका भइकन पनि ढुंगेलजीले के के गर्न भ्याइसके! ७ वर्ष अरबको मरभुमिको ताप सहँदै रेमिट्यान्स पठाए, देशको लागि आर्थिक शहिद भए। अहिले फर्केर फेरी देशको माटोमा पसिना चुहाउँछु भन्छन्। शायद अरु धेरै ढुंगेलजीहरुको पनि त्यस्तै विचार होला। क्वालालम्पुरको गर्मीमा सडकमा अलकत्ता बिछ्याउने ढुंगेलजी, दिल्लीको गल्लीमा सोडा बेच्ने ढुंगेलजी, दुबईमा सयौ तलाको बिल्डिंग चढेर शिसा चम्काउने ढुंगेलजी, अनि बहराइनको एअरपोर्टमा कफी बेच्ने ढुंगेलजी। ढुंगेलजीहरुको पसिनाले नै रक्तसंचार गरेर चलिरहेको छ अस्पतालको शैयामा उत्तानो परेर लडिरहेको नेपालको अर्थतन्त्र। 


आफ्नो बारेमा सोच्छु। आफुले पनि त ठिकै गरिरैयाछ त। नेपालमा बसुन्जेल राम्रोसँग पढें, अघि बढ्दै गएँ। अमेरिकामा पनि आफ्नो ल्याकत अनुसार राम्रै गरिराछु। तैपनि किन यो 'गिल्ट' महशुस भैरा होला? शायद आफुलाई ढुंगेलजीसँग तुलना गर्दैछु म। उनले त्यत्रो गरिसके परिवारको लागि, देशको लागि। आफुले चाहिं सुको पठाउन सकेको छैन अहिलेसम्म। तर यो त सतही विश्लेषण भयो, म भित्री कारण खोतल्छु। 

 शायद सम्बन्धको इमान्दारीताले होला! मनभित्र चलिरहेको अदालतमा एउटा वकिलको राय आउँछ। ढुंगेलजीले कुवेतसँग इमान्दारीताको सम्बन्ध गाँसे। उनलाई शुरुमै थाह थियो, कुवेतले उनलाई केवल श्रम आपूर्तिको रुपमा भित्र्याएको थियो। उनलाई कुवेतले र कुवेतलाई उनले कहिल्यै आफ्नो बनाउने सोच राखेका थिएनन्। उनलाई राम्ररी थाह थियो उनी एकदिन नेपाल फर्कनुपर्छ भनेर। कुवेत सरकारलाई कुनै दबाव थिएन, उनको श्रीमती, छोराछोरीलाई भिसा दिन। यो सीधा लेनदेनको सम्बन्ध थियो। दुवै पक्षको 'एक्स्पेक्टेसन' राम्ररी बुझेका थिए एक-अर्काले। लुकाई छुपाई केहि सम्झौता भएको थिएन। 

अमेरिका र मेरो सम्बन्ध झुठको जगमा अडेको छ। शुरुमा भिसा अप्लाइ गर्दैखेरि 'नन-इमिग्रेन्ट इन्टेन्ट' छ भनेर झुठो बोलें अमेरिकालाई। अमेरिकाले पनि आफ्नो स्वप्नजाल फ्याँकीरहेको थियो। उसलाई राम्ररी थाह छ, राम्रा माछाहरु अड्किनेछन्, नराम्रा चाहिं जालमा परे पनि पछि छटपटाउँनेछन्, आफैं पाखा लाग्नेछन् भनेर। अमेरिकाको ठुलो सागरमा तैरिन धेरै माछाहरु आफैं होम्मिन्छन् त्यो सपनाको जालोमा। कति तैरिन सक्छन्, कति सक्दैनन्। अमेरिका आफ्नो 'अमेरिकी स्वप्न'को व्यापार गर्छ तर पूर्ण रुपमा मौन रही। अमेरिकाको र मेरो सम्बन्ध खुला छैन, उदार छैन, कागजमा एउटा कुरामा सहि हुन्छ, भित्री स्वार्थ दुवैको आ-आफ्नै हुन्छ। यस्तो सम्बन्धमा गाँजीएको छ मेरो जिन्दगी, अनि कसरी ढुंगेलजी जसरी बाँचु? कसरी उनी जस्तै मन खोलेर हाँसु? 

सडकको एउटा सानो खाल्डोमा स्कुटरको पांग्रा परेर हल्का झट्का लाग्छ। मेरो विचार प्रवाहमा एकै छिनको ब्रेक लाग्छ। मन-अदालतको अर्को वकिल कुर्लिन्छ, "अमेरिका छोड्दिनु पर्यो। नेपाल फर्किने! नभए मुम्बई, हंगकंग, सिंगापुरतिर कतै काम खोजौंला। घर, बा, आमा पनि नजिकै हुन्छन् -एकै फ्लाइट पारी। चाइना र इंडियाले यत्रो आर्थिक विकास गदैछन्। यसो घरकै नजिक इलम बेच्न कसो नसकिएला?" तर अहिले बल्ल बल्ल अमेरिकामा 'सेटल' हुन लागेको बेला मन-अदालतले यो वकिलको पक्षमा फैसला दिन हिचकिचाउँछ। 

मेरो पिंढीको प्रतिनिधित्व गर्ने धेरै थरिमध्ये दुई थरि हौँ, ढुंगेलजी र म। अर्काथरी पनि छन्- फुलटाइम राजनैतिक दलका कार्यकर्ताहरु। ढुंगेलजीहरुको पसिनामा यस्तहरुले रजाईं गर्छन्, अनि मजस्ताहरु चाहिं त्यसको विरोधमा बेलाबेलामा आफ्ना फेसबुक र ट्वीटरका स्टाटसहरु अपडेट गर्छौं। यसो देशको 'केयर' गरेजस्तो त गर्नुपर्यो नि!

बाटो मेनरोडसँग मिसिने चोक आइपुग्छ। म स्कुटर एकछिन रोक्छु। अरनिको राजमार्गको त्यो खण्डमा दायाँ मोडेर गइरहे चाइना पुगिन्छ, म बायाँ मोड्छु, काठमाडौँतिर। 

एक महिनाको मेरो काठमाडौँ बसाई यसो उसो गर्दै बित्छ। ढुंगेलजीसँग फेरी भेट हुँदैन, फोन पनि हुँदैन। एकपटक एउटा साथीको बाइक पछाडी बसेर नगरकोट जाँदाखेरि ढुंगेलजीलाई सम्झेको थिएँ -कटुन्जेको उकालो देखेर। त्यो सम्झना भेटघाटमा बदलिन सक्थ्यो होला तर तेतिखेर मेरो सेलफोन डेड थियो। 

अफिसको कफी रुम, अफिसको साथी रेड्डी एउटा तेलुगु धुन गुनगुनाउँदै भित्र छिर्छ। हिजोआज मेरो सबैभन्दा धेरै समय सँगै बित्ने साथी बनेको छ रेड्डी। म भन्दा ५ वर्ष कान्छो यो हैदरावादी केटो निकै तेज छ कम्प्युटर प्रोग्रामिङ्गमा। मलाई अफिसको समस्याहरुमा सघाइरहेको हुन्छ बेला बेलामा। 

"ड्युड! हाउ वाज योर ट्रीप टु नेपाल?" ऊ आफ्नो कडा साउथ इन्डियन एकसेन्टमा मलाई सोध्छ। 

"असम म्यान! ह्याड अ लट ऑभ फन।" म उत्तर दिएर कफी हातमा लिई आफ्नो क्युबिकलतिर जान्छु, जहाँ मेरो ब्राउजर स्क्रीनमा हफ़िङ्टन पोस्ट र सेतोपाटीका दुई लेखहरु मेरो प्रतिक्षामा हुन्छन्।      





No comments:

Post a Comment