Sunday, February 2, 2014

यी मुक्त छन्

यी खोल्सा हुन् पृथक्
त्यागे जसले नदिको धार
यी योगी हुन् अनौठा
त्यागे यिनले घर र बार

जाग्यो यिनको चेतना
भाग्यो डर मनको
न भय मृत्युको
न आशक्ति जीवनको

यी मुक्त छन्
यी उदार छन्
चेतनाको उडान भर्ने
पंखरुपी बिचार छन्

तोडेर जन्जीर संस्कारको
स्वन्तन्त्रताको सपना बुने
उद्गम त थियो नियति
गन्तब्य आफ्नो स्वयम चुने

रोजेनन् दिन आहुति
सागरमा स्व-अस्तित्वको
नवजीवन रच्ने प्रण सुन्दर
सिंचेर बालुवा बरु मरभूमिको

के देखाउंछौ लोभ दुनियादारीको?
संसारै नौलो रच्न खोज्नेलाई
के मोह धर, धरा र धरतीको?
उन्मुक्त आकाश रोज्नेलाई

No comments:

Post a Comment