Sunday, June 29, 2014

मार्ग प्रेम






















बिहानीको यो प्रहर
अनायसै आँखा खुल्छ
पहिलो किरणले ग्रीष्मको
कलकलाउँदो तिम्रो सौन्दर्यमा
घनिभूत हुन्छ यो आवारा मन
पाइला तिम्रै बाटो डुल्छ

पोख्यौ आफ्नो मादकता
सेता अनि गुलाफी फूलहरुमा
धपक्क बलेको योवन तिम्रो
साँचिराख्नेछु सधैं मेरा
भोगाई अनि भुलहरुमा

कहिले तर्साउँछौ तर
बुढो वृक्ष बनी मेरो आँगनको
निर्लज्ज पातका वस्त्र खोली
प्राणविहिन हाँगाका भरमा ठडी
गर्छौ उपहास मेरो जीवनको

कहिले भुलाउँछौ अनि
जीवनको बनी इन्द्रेणी
ती काला, ती गोरा, ती खैरा
एकै मूल, एकै उद्गम
भिन्न भिन्न स्वरुप बनी

सधैं थिएन माया यति गाढा
बसेको थिएन प्रिती, म ढाँट्दिन
तर आजभोलि अरु गल्लीहरुमा
प्रेमको सौगात उस्तो म साट्दिन
किनकि तिम्रो पिरतीले दिन्छ मलाई
अलिकति भरोसा, अलिकति साहस
मानौ म अर्जुन कुरुक्षेत्रको
सुर्याउँछौ मलाई कृष्ण बनी
तर स्वयुद्धदेखि डराउँछु म
गाण्डिब आफ्नो भुँइमै छोडी

उदाउँछौ प्रभातको उज्यालोमा
फक्रिन्छौ दिउसो, लोलाउँछौ साँझ
चलमलाउँछौ राति अनि
सुत्छौ केवल एकै प्रहर
बिहानीको यो प्रहरमा
आज तिमी मेरो, म तिम्रो
सजाउँछु तिमीलाई दिलको माझ
भोलि छुट्टी गएपनि प्रिय
तिम्रो यादमा नियाल्नेछु
नयाँ गल्लीमा चल्ने पाइलाहरुलाई
कविता कोर्नेछु, लेख्नेछु काव्य
हर हरफ तिम्रो वर्णनले सजाई

हरेक रात गुमाउँछु म होश
जगजगाईदेउ मलाई दिन बनी
हौस्याउ मलाई पुरै जीवन
हर पल, हर छिन पनि
म बहुलाउनेछु, स्वीकार प्रेमी भनी
मेरी प्यारी जेनिफर जीन तिमी



No comments:

Post a Comment