Thursday, August 20, 2015

टक्क एकछिन अडिएर

निराशाका जर्जर खडेरीमा
एकान्त मनको मझेरीमा
टिपटिप गर्दै मनसुनको
पहिलो थोपा थोपामा
संधै आफुलाई टोकसिरहने
आफैंभित्रको चित्रगुप्त पनि
धोती टोपी सबै भिजाई
निथ्रुक्क झरीमा रुझे झैं लाग्छ

एकोहोरो अघि बढिरहने
पलपल सधैं घटिरहने
भोगाइ र घटनाको गति अनि
इच्छा र प्राप्तिको चलखेल पनि
टक्क एकछिन अडिएर
बिसाएर विगतको भारी
भविष्यको चिन्ता पर लघारी
जीवन दर्शन बुझें झैं लाग्छ

गन्तव्य आफ्नो थाह भई पनि
बाटो भुलेको यात्रीजस्तो
टाढा टाढा कता कता
रुमल्ली रहँदा यताउता
बस्ती बस्तीहरु
गल्ली गल्लीहरु
हर गल्ली आफ्नै बाटो
हर बस्तीमा आफ्नै घर भए झैं लाग्छ


No comments:

Post a Comment