Wednesday, July 9, 2014

ऊ र प्रकृति

न मात्राको बन्धन 
न छन्दको सिक्री 
न हिज्जेको सुर्ता 
न लयको फिक्री 

लेख्थ्यो उसले कविता 
बालुवामा बगरको 
कहिले पंक्ति प्रेमको 
कहिले हरफ रहरको 

सुसेल्थ्यो अनि बताससँगै
मधुर मनको मीठो गीत 
क्षितिजदेखि क्षितिजसम्म 
पोख्थ्यो आफ्नो दिलको प्रीत 

तर, साउनको भेलले उसको 
कविता सबै बगायो 
साबुनका फोका जस्तै गरी 
बतासे गीत नि बिलायो 

साँझको रंगीन क्षितिज 
ग्वाम्मै निल्यो रातले 
तिल्मिलायो ऊ छट्पटायो 
प्रकृतिको घातले 

गले उसका हातहरु 
फेरी कहिले उठेन 
प्रकृतिको प्रेम उसको 
प्रकृतिले नै बुझेन 

 

1 comment: