Wednesday, April 20, 2016

माया त माया हो

नजरले मात्रै छुँदा पनि
जीउमा आगो रन्किने  
स्पर्शसँगै अनि कायाको 
रोमान्चित, पुलकित 
यो मन, त्यो तन 
यो तन, त्यो मन 
मन-मनको त्यो चोखो नाता
होश भुली लेखेको प्रेमगाथा 
यो समाज-बेलाले नस्वीकारे पनि 
अनि मुकुण्डो तिम्ले नउतारे पनि 
झुठो तिम्रो जीत
मैले हारे पनि
गे भए पनि 
जे भए पनि 
माया त माया हो 

रमझममा पुग्दैनन् मातहरु 
खोतल्छु पुराना यादहरु 
हँसिलो मुहार, सुन्दर ओठ 
ओठबाट निस्केका बातहरु 
सम्झनाको घडा फुट्छ कहिले
अनि छताछुल्ल भावहरु
पोखिंदै, सँगाल्दै
सँगाल्दै, पोखिंदै  
भाव आधी भए विलीन 
आधै रहे यादहरु 
बाँकी रहेको यादलाई पनि 
हुरीले बढारे पनि
मनको सम्झनलाई  
भकुरी लघारे पनि 
बसेको त्यो मीठो प्रीत 
सम्झी मुसुक्क हाँसे या त
बरबरी आँशु झारे पनि 
गे भए पनि 
जे भए पनि 
माया त माया हो 

कहिले भाग्यसँग सम्झौता, गरुं झैं लाग्छ 
कहिले समताको लडाइं, लडुं झैं लाग्छ 
एक पाङ्ग्रे गाडी लिइ अघि, कसरी, बढुं झैं लाग्छ
हेरौं, यो जुनीमा 
अर्को माया फेला पारे पनि 
यसै जीवन टारे पनि 
गुँड बनाई बसे कतै 
एक्लै संसार चारे पनि 
झ्याँइ-झ्याँइती बाजा बजाई
इष्टमित्र, साथीभाई 
अघि पछि, सब नचाई 
बे भए पनि 
नभए पनि 
गे भए पनि 
जे भए पनि 
माया त माया हो   

No comments:

Post a Comment