Wednesday, September 3, 2014

द्वन्द्व

बदलिएको मौसमले हो कि
बेगंतव्य दौडले हो
अस्थिर मनको पारा हो कि
जीवनको नौलो मोडले हो
कहिलेकाहीं यसै मलाई
सबै त्यागौं लाग्छ
कहिलेकाहीं यसै मलाई
कतै भागौं लाग्छ

बाटा धेरै, खुला चोक
रनभुल्ल सबैजना
पुरानो मेरो किताव खस्छ
छताछुल्ल सबै पाना
पानाहरु सम्हालेर
फेरी किताव गासौं कि
रामितेहरुलाई हेरी
खिस्स हासो हासौं कि
कि अन्जुलीले उगाईकन
पोतौं मुखमा धुलो माटो
कि त कसैलाई समाई
सोधौं अब जाने बाटो
मान्छेहरुको भीडले हो कि
भित्र मनको पीडाले हो
संसारको बेथिति हो कि
आफ्नै मनस्थिति हो
कहिलेकाहीं यसै मलाई
सबै त्यागौं लाग्छ
कहिलेकाहीं यसै मलाई
कतै भागौं लाग्छ

जुटाउँछु साहस अलिकति
उठाउँछु शब्दहरु पोखिएको
भीडलाई हेर्छु, फुट्छ अनि 
विचार-बाँध रोकिएको
सिध्दान्तको कवच ओडी
बनाउँछु शब्दको तलवार
यहि हो मेरो युद्ध भन्दै
गर्छु भीडलाई प्रहार

अचानक फेरी पर्छ रात
युद्ध, भीड सबै बिलाउँछ
निस्पट्ट निशा, मौन आकाश
चीर सन्नाटा छाउँछ
भीडले जित्यो कि
आदर्शले हार्यो कि
सोच्दै हुन्छ छटपटी
परास्त हुने डरले हो कि
ब्रम्हज्ञानको रहरले हो
कहिलेकाहीं यसै मलाई
सबै त्यागौं लाग्छ
कहिलेकाहीं यसै मलाई
कतै भागौं लाग्छ











2 comments:

  1. I never get tired reading ur writing...one more good one......keep it up :)

    ReplyDelete
  2. The notion that there are people out there who read and appreciate your work must be the greatest motivation for anyone who writes. For me, it definitely is. Thanks for your compliments. It really means a lot.

    ReplyDelete